
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको हो । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग-कलकारखाना स्थापना भएको उहाँले बताउनु भयो । खानेतेलदेखि मरमसलासम्मका उद्योग यहाँ भए पनि नयाँ उद्योगहरू भने खुल्न नसकेको उहाँको भनाइ छ ।
नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल नयाँ फ्याक्ट्री खोल्नुपर्यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल-बल्ल फ्याक्ट्री खुलिहाले पनि चलाउन थालेपछि चन्दा आतंक सुरू हुने गरेको उहाँले बताउनु भयो ।
अब चन्दा आतंक बन्द हुने उहाँको दाबी छ । उहाँले पुर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्नेमा पनि जोड दिनुभयो । पूर्वी तराईका चार जिल्लामा पूर्णरूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने उहाँको दाबी छ । उहाँले पूर्वी पहाडमा उत्पादन भएको कृषि उपजलाई तराईमा लैजाने बताउनुभयो ।
शाहले पूर्वका धार्मिक तथा सांस्कृतिक स्थलहरू-मुकुलुङ र खुवालुङलाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने पनि दाबी गर्नुभयो । उहाँले पूर्वी क्षेत्रमा सिँचाई, खानेपानीलगायतका व्यवस्था गर्ने पनि बताउनु भयो । उहाँले उदयपुरलाई माल्दिभ्स जस्तो विकास गर्न सकिने दाबी गर्नुभयो ।