
काठमाडौै । राष्ट्रिय सभाका सांसदहरुले भ्रष्टाचाररहित देश बनाउनु अबको प्राथमिकता हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् ।
उनीहरुले गत भदौ २३ र २४ गतेको युवा पुस्ताको आन्दोलनले पनि भ्रष्टाचार निर्मूल गर्नुपर्ने र सुशासन कायम हुनुपर्ने माग राखेको र सबैको चाहना भ्रष्टाचार मुक्त देश रहेको बताए । उनीहरुले भ्रष्टाचार के हो ? घुस के हो भन्नेबारे सबैलाई जानकारी दिन र त्यसको परिभाषा गर्न जरुरी रहेको बताए ।
राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले सदाचार के हो ? भन्नेबारेमा परिभाषा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले इमान्दारिताको बारेमा पनि सबैलाई बुझाउन पनि जरुरी रहेको बताउनु भयो । उहाँले पेशागत इमान्दारिता, सांस्कृतिक सदाचारबारे सबैलाई स्पष्ट रुपमा बुझाउन जरुरी रहेको बताउनु भयो । नीति बनाएर मात्रै नहुने भन्दै कार्यान्वयन मुख्य रहेको उहाँको भनाइ छ ।
राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले भ्रष्टाचाररहित देश बनाउने सबैको चाहना भएपनि कसले र किन हुन दिइएन भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने बताउनु भयो । उहाँले विगतका सरकारले गरेका कामहरुबारे पनि मूल्यांकन गर्न जरुरी रहेको बताउनु भयो । देशलाई ग्रेलिस्टबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सबैको उद्देश्य सदाचार र असल समाज निर्माण गर्नु रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारमुक्त नेपाल र स्वाभीमानी नेपाली भएर बस्ने रहर सबैको रहेको बताउनु भयो । उहाँले अदालतमा वर्षौंसम्म मुद्दा थन्किने, अख्तियारमा पनि वर्षौंसम्म नटुंगिने समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले सबैले आफ्नो कर्तव्यपालना नगरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो । नियम, कानून, पालना नगर्ने र कर्तव्य पालना नगर्नेलाई कठोर कारबाही हुनुपर्ने बताउनु भयो ।राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले नीति बनाउने तर कार्यान्वयन पक्ष फितलो हुनु नै अहिलेको समस्या भएको बताउनु भयो । नीतिहरु रछ्यानमा राख्ने नभइ कार्यान्वयन गर्नसक्नुपर्ने बताउनु भयो ।
उहाँले शपथ खाएअनुसार नै काम र कर्तव्य पालना गर्ने हो भने सोचेको जस्तो देश बनाउन सकिने बताउनु भयो । शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपालमा २५ सय वर्षपछि सदाचार नीतिबारे छलफल गर्नु नै दुःखको कुरा भएको बताउनु भयो ।बैठकमा बोल्दै अन्य सांसदहरुले सदाचार नीतिमा गैरसरकारी संस्थाहरुबारे पनि स्पष्ट रुपमा लेखिनुपर्ने बताउनु भयो । एन्जिओ, आइएन्जिओको प्रभाव नेपालमा धेरै रहेकाले सकारात्मक कुराबाट फाइदा लिएर नकारात्मक कुरालाई रोक्नुपर्ने बताउनु भयो ।
उनीहरुले बोलाएका कस्ता कार्यक्रमा जाने र कस्ता कुरामा नजाने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताउनु भयो । सञ्चारमाध्यमहरुले जे भनिदिए पनि हुने अवस्थाको अन्त्य गर्न पनि सदाचार नीति जरुरी रहेको बताउनु भयो ।