भारतले दियो नेपाललाई सुरक्षा सामग्री

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतले दियो नेपाललाई सुरक्षा सामग्री

काठमाडौै । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । 

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । 

मन्त्री खनालले भारतलाई नेपालको ‘फस्र्ट रेस्पोन्डर’ का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको स्मरण गर्नुभयो । जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ । 

अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । भारत सरकारले नेपाल सरकारलाई उपहार स्वरुप २ सय ५० ओटा सवारी साधन दिएको छ । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ६ सय ५० सवारीमध्ये २५० उपलव्ध गराइएको र बाँकी आगामी साताभित्रै उपलब्ध गराइने भारतीय अधिकारीले बताए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले चुनावका लागि लक्षित गरेर भारत सरकारले अनुदानमा दिएका सवारीहरु स्वीकार गरिएको बताए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.