निर्वाचनमा स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा स्वदेशमै उत्पादित सामग्री प्रयोग गर्ने निर्वाचन आयोगको नीति

काठमाडौै । प्रतिनिधिसभा निर्वाचनका लागि ३५ दिन बाँकी रहेको छ । दलहरुले चुनावी गतिविधि बढाएका छन् भने निर्वाचन आयोगले पनि तयारी तीब्र पारेको छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । 

निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ । निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँको मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै (स्टक) लाई पुनः प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो । 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी को मनोनयनपत्र दर्ता, दाबी विरोध र निर्वाचन चिह्न प्रदानको कार्यक्रम सम्पन्न भइसकेको छ ।

यसैबीच निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्पष्टीकरण सोधेको छ । सप्तरी २ बाट उम्मेदवार रहनुभएका राउतमाथि निर्वाचन आचारसंहिता उल्ल‌ंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.