कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह

पुस २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गर्नुभयो । उहाँले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उहाँको दाबी छ । उहाँले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो । 

उहाँकाअनुसार पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन गरिएका छन् । 

जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेन-जी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको समेत पोखरेलले जानकारी दिनुभयो ।

पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रीय महाधिवेशन आह्वान गरेको हो । पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै अगामी जेठ मसान्तसम्मको लागि केन्द्रीय कार्यसमितिको कार्यअवधि थप गरिसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.