कांग्रेस : विशेष महाधिवेशन निष्क्रिय भएकाे भन्दै निर्वाचनमा लाग्न संस्थापन पक्षकाे निर्देशन

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस : विशेष महाधिवेशन निष्क्रिय भएकाे भन्दै निर्वाचनमा लाग्न संस्थापन पक्षकाे निर्देशन

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरू विशेष महाधिवेशनको तयारीमा लागिरहँदा संस्थापन पक्षले भने विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै तल्ला तहलाई परिपत्र गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित तल्ला निकायमा पत्र पठाएको हो । परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउनका लागि क्रियाशील हुन निर्देशन दिइएको छ । पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मितिमा भएको परिपत्र कांग्रेसले साेमबार आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।

कांग्रेस संस्थापन पक्षका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउँदै नेता कार्यकर्तालाई निर्वाचनमा लाग्न अपिल गरेका छन् । कांग्रेसका कोशी सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति ईन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका हुन् ।

तर विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन तत्काल आह्वान गरियोस् भन्ने व्यहोराको ध्यानाकर्षणपत्र केन्द्रीय कार्यालयमा बुझाएका छन् । यसअघि पुस ११ गते ध्यानाकर्षण गराएको र नेतृत्वले विधानको सर्वोपरितालाई स्वीकार नगरी गरेको एकपक्षीय निर्णय लोकतान्त्रिक मान्न नसकिने नेता देवराज चालिसेको भनाइ छ ।

विशेष महाधिवेशन पक्षधरले भने तयारी जारी गरेका छन् । विशेष महाधिवेशन यही पुस २७ र २८ गतेका लागि बोलाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.