
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभएको छ ।
शुक्रबार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ । उहाँले निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइए आयोगलाई सतर्क गराउन सञ्चारमाध्यमहरूलाई अनुरोध गर्नुभयो ।
यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत ध्यानपूर्वक हेर्न उहाँको आग्रह छ । अन्तरिम सरकार गठनको समयमा राष्ट्रपतिले समेत संविधानअनुसार निर्वाचन गरिनुपर्ने र संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एकमात्र विकल्प भएको कुरा राखेकोले सोहीअनुसार अगाडि बढ्नुपर्ने उहाँले बताउनु भयो ।
भण्डारीले मुलुकले थप आन्दोलन धान्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सक्रिय सहभागी गराइ सक्षम व्यक्तिहरूलाई संसद्मा पठाउनुपर्ने सबैको साझा दायित्व भएको बताउनु भयो ।