
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ ।
उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरूले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रूपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गर्नुभयो ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरूले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११औं महाधिवेशनमा पोखरेललाई अध्यक्षको रूपमा निर्वाचन गराउन चाहेको समेत बताउनु भयो ।
उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर मार्क्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताउनु भयो । उपाध्यक्ष ज्ञवालीले आफूहरूले ईश्वर पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भुमिका खेल्न चाहेको पनि बताउनु भयो ।