
काठमाडौं । नेकपा (एमाले)का नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका ईश्वर पोखरेल पक्षधरहरूले सोमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरूको भावना बुझेर नेतृत्वबाट बिदा लिनुपर्ने बताउनु भयो ।
ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उहाँको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उहाँले बताउनु भयो । ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उहाँको भनाइ छ । उहाँले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्ने हुँदा स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनु भयो ।
उहाँले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहोर्याउनु भयो । केही भजनमण्डलीहरू तयार पारेर आफूबाहेक अरू कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।