जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेको छ ।
लोसपाका जितेन्द्रप्रसाद सोनल र नेपाली कांग्रेसका कृष्णप्रसाद यादवले प्रमुख प्रमुखसमक्ष दाबी पेस गर्नुभएको हो । कांग्रेस र एमालेबाहेकका पाँच दलको सिफारिसमा लोसपाका सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
विश्वासको मत लिने भनिए पनि सतिशकुमार सिंहले प्रदेशसभाको रोष्टममा नै राजीनामा दिनु भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आह्वान भएबमोजिम एमाले र कांग्रेसबाहेकका पाँच दलहरुले सोनललाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेका हुन् । जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र , लोसपा नेपाल र नेकपा समाजवादीका ५६ जना प्रदेश सभा सदस्य साथमा रहेको भन्दै प्रदेश प्रमुख भण्डारी समक्ष बुधबार बिहान सोनलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिएको हो ।
यसैबीच मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको पनि दाबी परेको छ । यादवले कांग्रेस, एमाले र जनमतका ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । तर जनमत पार्टीले आफ्नो समर्थन लोसपाका जितेन्द्र सोनललाई नै रहेको भन्दै यादवले प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीको विज्ञप्तिमार्फत खण्डन गरेको छ ।