कांग्रेसभित्रको विवादले बागमती प्रदेश सरकार संकटमा

लामा र बानियाँको कसरत तिब्र, समाधानकालागि आज राजन केसीले छलफल गर्दै
श्रावण १२, २०८२ |बालकृष्ण अधिकारी
कांग्रेसभित्रको विवादले बागमती प्रदेश सरकार संकटमा

मकवानपुर । कांग्रेसभित्रको विवादले बागमती प्रदेश सरकार परिवर्तनको संघारमा पुगेको छ । सरकारको नेतृत्वका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र वानियाँ प्रदेससभा सदस्य आआफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ । समाधानका लागि केन्द्रले तोकेको प्रतिनिधि सांसद राजन केसीले आज दुबै पक्षसँग छलफल गर्दै हुनुहुन्छ ।

बागमती प्रदेशको राजनीतिमा अहिले कांग्रेसभित्रैको आन्तरिक टकरावले चुलिएको हो । प्रदेश सरकारको नेतृत्व सम्हालिरहेका मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलको नेतामा अविश्वास प्रस्ताव दर्ता भएसँगै उहाँले नेतृत्व गरेको सरकार संकटमा देखिएको हो । कांग्रेस सभापति शेरबहादुर देउवानिकट रहेका लामा र इन्द्र बानियाँबिच पछिल्लो समय शक्ति संघर्ष बढेको छ । २१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव खेपिरहेका मुख्यमन्त्री लामा अब कुर्सी जोगाउने संघर्षमा हुनुहुन्छ । उहाँ काठमाडौँमै पार्टीका शीर्ष नेताहरूसँगको भेट र सांसदसँगको छलफलमा जुट्नुभएको छ ।

यता कांग्रेस बागमती प्रदेश सभापति बानियाँ प्रदेशसभा सदस्यलाई आफ्नो पक्षमा राखिरहने योजनामा हुनुहुन्छ । मुख्यमन्त्री लामामाथि संकट टार्न अविश्वास प्रस्ताव फेल गर्नुपर्ने वा फिर्ता गराउनुपर्ने बाध्यता छ । कांग्रेसका कुल ३७ प्रदेशसभा सदस्यको २५ प्रतिशतको समर्थनमा अविश्वास प्रस्ताव पारित हुने अवस्था छ ।

अविश्वास प्रस्ताव विफल गर्न कठिन देखिए पनि बानियाँ पक्षमा रहेका सांसदलाई आफूतर्फ आकर्षित गरेर १९ जनाभन्दा कम बनाउने र अविश्वास प्रस्ताव फिर्ता गर्न दबाब दिने रणनीतिमा मुख्यमन्त्री लामा लाग्नुभएको छ । संसदीय दलको नेता बन्न उहाँलाई १९ प्रदेशसभा सदस्य आवश्यक छ ।

बागमतीको यो विवाद मिलाउन कांग्रेसले संघीय सांसद राजन केसीलाई जिम्मा दिएको छ । केसीले आज दिउँसो १ बजे छलफलका लागि दुवै पक्षका प्रदेशसभा सदस्यलाई बोलाउनुभएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।