काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको निवासमा भएको भेटघाटमा दुई पार्टीका अध्यक्षबीच माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भएका सहकार्य तथा एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा छलफल भएको हाे ।
यस्तै, उक्त भेटघाटमा मुलुकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल समेत भएको थियाे । वामपन्थी धुर्वीकरण, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा, कम्युनिष्ट शक्ति एकताबद्ध गर्न भएका प्रयास, अन्तरराष्ट्रिय तहमा शक्तिराष्ट्रबीच भएका युद्ध र त्यसको प्रभाव तथा सरकारको कार्यशैलीबारे छलफल भएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।-रासस