काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो बेरूजुको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति रहेको टिप्पणी गर्नुभएको छ ।
आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले मुलुकमा बढ्दै गएको बेरूजु र घट्दै गएको फछ्र्यौट मुख्य जिम्मेवार लेखा समिति र संवद्ध प्रशासनिक निकाय रहेको टिप्पणी गर्नुभएको हो ।
उहाँले मुलुकमा बेरूजु कम गर्दै मुलुकमा आर्थिक पारदर्शीता कायम गर्नेबारे समितिले गम्भीर भएर सोच्न जरूरी रहेको बताउनुयभो । उहाँले महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमता सुधारका लागि पनि लेखा समितिले भुमिका खेल्नुपर्ने बताउनु भयो ।
राज्य प्रणालीमा भएको समस्याको सुधार नगरी लेखा प्रणालीका समस्या केवल सैद्धान्तिक बहसमा सीमित राख्दा समस्या बढ्दै जाने उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्दै आर्थिक प्रशासनिक निकायहरुको संस्थागत कार्यक्षमतामा वृद्धि गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।