एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मकलगायत विषयमा छलफल जारी

श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले केन्द्रीय कमिटी बैठकमा सङ्गठनात्मकलगायत विषयमा छलफल जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ केन्द्रीय कमिटीको मंगलबारको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सङ्गठनातत्मकलगायत विषयमा छलफल जारी छ ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज दोस्रो दिनको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि ५८ जनाले आफ्नो धारणा राखेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । हिजो पहिलो दिन ४९ जनाले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिवेदनमा अझै ७७ जनाले आफ्नो धारणा राख्न बाँकी छ । प्रचार विभाग प्रमुख गौतमले आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय, पार्टी सदस्यता र सङ्गठित सदस्यताको व्यवस्था गर्नेलगायत विषयमा धारणा राखेको गौतमले जानकारी दिनुभयो ।

“मातहतका कमिटी मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएर उठाइएको छ”, उहाँले भन्नुभयो, “सबैतिरको रिपोर्टिङअनुसार पार्टीको एक लाख ३९ हजार सदस्यता वृद्धि भएको छ । यो प्रतिशतका हिसाबले करीब २८ प्रतिशत हो ।”

प्रचार विभाग प्रमुख गौतमले बैठकमा सरकारको प्रभावकारिता, मूल्य वृद्धिलगायत विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको उपाध्यक्षको विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदन यसअघि सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरेका थिए । 

प्रचार विभाग प्रमुख गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण सम्बोधन गर्दै आजै बैठक समापन गर्नु हुनेछ । बैठक सोमबारदेखि सुरू भएको हो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.