भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जङ्गलमा थन्किएको बताउनुभएको छ ।
नेपाली कांग्रेस मध्यपुर थिमी भक्तपुरले ४३औँ बिपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्ताे बताउनुभएको हो ।
उहाँले राज र मेरो गर्धन जोडिएको छ भन्ने बिपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको समेत बताउनुभयो। त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त्य भएको उहाँको दाबी थियो ।
उहाँले बिपीलाई राजसंस्था, कम्युनिस्ट र स्वयं नेपाली कांग्रेसले समेत बुझन नसकेको बताउनुभयो । महामन्त्री शर्माले कुलिङ पिरियडको विषयमा प्रधानमन्त्रीले पेलेर जान खोजे सत्ता गठबन्धनमै दरार आउने चेतावनी समेत दिनुभयो ।
रवि लामिछानेको गिरफ्तारीबारे उठेका गुनासोलाई उहाँले अस्वीकार गर्दै लामिछानेलाई सहकारी ठगी प्रकरणमा न्यायालयले दोषी ठहर गरिसकेको कारण जेलमा रहेको बताउनुभयो। उहाँले ठूला दलहरूले नयाँ दलहरूविरूद्ध कुनै प्रतिशोध नराखेको स्पष्ट पार्नुभायो।