एमालेले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा समस्या आउने कांग्रेस महामन्त्री शर्माको चेतावनी

सत्ता साझेदारको फरक धारणालाई सम्मान गर्न प्रधानमन्त्रीलाई आग्रह
श्रावण ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा समस्या आउने कांग्रेस महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा समस्या आउने चेतावनी दिनुभएको छ ।

४३ औँ बीपी स्मृति दिवसमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न छानबिन समिति बनाएको स्मरण गराउनुभयो। 

सर्वसम्मत रुपमा गरिएको निर्णयविरूद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उहाँको चेतावनी थियो । शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणालाई सम्मान गर्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह पनि गर्नुभयो ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसको मूल्य मान्यतामा एमालेले आक्रमण गरिरहेको आरोप लगाउनुभयो । कुलिङ अफ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

नेताहरूले एमालेसँगको सत्ता सहकार्य र कार्यशैलीमा समस्या देखिएको भनिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने त्यसबारे केही बोल्नुभएन । बरू उहाँले देशको अहिलेको राजनीति बीपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताउनुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले आफूहरू राजनीतिका कठिन दिन भोगेर र संर्घष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राख्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.