काठमाडौं । उर्जामन्त्री दिपक खड्काविरुद्ध परेको उजुरीमाथि छलफल गर्न बोलाइएको संसदीय समितिमा नेपाली कांग्रेसका अधिकांश सदस्य अनुपस्थित भएपछि गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बोलाइएको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । दुई ठुला आयोजना मुगु कर्णाली र किमाथाङ्का अरुण जलविद्युत परियोजना निजी क्षेत्रलाई दिने निर्णयका विरुद्ध परेको उजुरीका विषयमा मन्त्रालयको धारणा माग गर्न समितिले उर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर खड्कालाई बोलाएको थियो । दुबै मन्त्रीहरू आए पनि नेपाली कांग्रेसका ८ मध्ये दुई सांसद मात्रै समितिमा पुगेका थिए ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले समितिमा कोरम पुर्याउँदा पुग्ने अवस्था भएपनि नेपाली कांग्रेसका एक जना पनि सांसदहरू बैठकमा उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका सांसद कल्पना चौधरी र राजेन्द्र बजगाइं समितिमा आएर उपस्थित भएर मात्रै फर्किएको बताउनु भयो । उहाँले नेपाली कांग्रेसका सांसदहरू एजेण्डा प्रश्तुत गर्ने समयमा बाहिरी सकिएकाले बैठक अघि बढाउन नसकिएको बताउनु भयो । उहाँले मन्त्रालयले समितिले कोरम पुर्याउन नसकेको देखाउनको लागि कांग्रेसका सांसदहरूलाई उपस्थित नगराएको देखिएको आरोप लगाउनु भयो ।
समिति बैठक बस्नको लागि १४ जना सांसद आवश्यक भए पनि १२ जना मात्रै उपस्थित भएको सभापति दिपक सिंहले जानकारी दिनुभयो । अर्को बैठक २४ गते बोलाइएको छ ।