दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा प्रमुख दलले टुंग्याए उम्मेदवारी, घरदैलो सुरु

कार्तिक २३, २०८१ |केदार शिवाकोटी
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा प्रमुख दलले टुंग्याए उम्मेदवारी, घरदैलो सुरु

दोलखा । मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि दोलखाका प्रमुख दलहरुले उमेद्‍वारी टुङग्याएर घरदैलो अभियान सुरु गरेका छन् ।

दोलखाको दुर्गम गौरीशंकर गाउँपालिकाको रिक्त रहेको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसले गएको निर्वाचनमा विजयी भएका श्यामसुन्दर तामाङकी श्रीमती पासादिकी तामाङलाई उमेदवार बनाएको छ ।

श्यामसुन्दरको निधनपछि रिक्त रहेको उक्त पदमा उनकै श्रमितीलाई कांग्रेसले अघि सारेको हो ।

यस्तै, एमालेले उमा शेर्पालाई उमेदवार बनाएर निर्वाचनमा होमिएको छ । माओवादी केन्द्रले निमकेली शेर्पालाई र एकीकृत समाजवादीले रविना खड्कालाई उमेदवार बनाएको छ । 

गएको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीसहित समाजवादीले गठबन्धन गरेर निर्वाचन लडे पनि उपनिर्वाचनमा भने दलहरु एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । 

कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले घरदैलो अभियान थालिसकेको ती दलले जनाएका छन् । गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म सहभागी हुने या नहुने निर्णय गरेको छैन । 

गाउँपालिकाको उपाध्यक्ष पदमा मुख्यगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गएको निर्वाचनमा उक्त पालिकामा गठबन्धनबाट अध्यक्ष पदमा माओवादी र उपाध्यक्षमा कांग्रेसका उमेदवारले जितेका थिए ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।