खुम्चिँदै उपेन्द्र यादवको राजनीतिक यात्रा

जेष्ठ २८, २०८१ |अमरकान्त ठाकुर
खुम्चिँदै उपेन्द्र यादवको राजनीतिक यात्रा

जनकपुर । अन्तरिम संविधानमा संघीयता समावेश नगरेको भन्दै मधेश आन्दोलन सुरुवात गरेका उपेन्द्र यादवको राजनीति पछिल्लो समय खुम्चिँदै गएको छ । पुष्पलाल समूहबाट राजनीति सुरु गर्नुभएका यादवले २०४८ सालमै नेकपा एमालेबाट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो । त्यसपछि यादवले मधेशी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएर २०६३ सालमा दर्ता गरेपछि उचाइ प्राप्त गर्नुभयो ।

२०६५ सालमा वीरगन्जमा पहिलो महाधिवेशन गरेर पार्टी नेतृत्वमा चुनिएका यादवको दल त्यसयता टुट्दै, जुट्दै र फुट्दै गरिरह्यो । १६ वर्षपछि यादवले अहिले एकता महाधिवेशन गरिरहँदा जनता समाजवादी नेपालबाट अशोक राई समूह भने अलग भइसकेको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव एक महिना अघिसम्म सरकारको उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । तर सरकारमै रहँदा पनि यादवले आफैं प्रधानमन्त्री बन्ने आकांक्षामा नयाँ समीकरण बनाउन खोजेको संकेत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धनले जसपा नेपाल नै फुटाइदियो ।

सहयात्री अशोक राईले सात सांसद लगेर वैशाख २४ गते नयाँ दलको मान्यता पाएपछि संघीय संसद्‌मा पाँच जनामात्रै सांसदको साथसहित यादव राजनीतिक जीवनकै कठिन मोडमा पुग्नुभएको छ ।

०६३ सालमा मधेसी जनअधिकार फोरमको नेतृत्वबाट राजनीतिमा चम्किनुभएका यादव त्यसयता सरकारकै वरिपरि रहनुभयो ।

संविधानसभाको पहिलो निर्वाचनमा सुनसरी र मोरङ दुवै क्षेत्रमा विजयी यादव दोस्रो संविधानसभाको निर्वाचनमा भने मोरङबाट हार्नुपर्यो ।

मधेश आन्दोलनका बेला ६ वटा मधेशकेन्द्रित दलहरु एक बनेर राजपा गठन गर्दासमेत अटाउन नसकेका यादव ७४ सालको निर्वाचनमा राजपाकै गठबन्धनबाट सप्तरीबाट निर्वाचित हुनुभएको थियो ।

२०७७ वैशाख १० गते राजपा र संघीय समाजवादी फोरम एकीकरण अनि जसपा नेपाल गठन पनि फुट र जुटकै शृंखलाका हिस्सा रहे । जसपा नेपालसमेत लामो समय टिक्न सकेन । यादव र महन्थ ठाकुर एकले अर्कालाई कारबाही गरेसँगै २०७८ सालमा पार्टी विभाजन हुनपुग्यो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएपछि यादवलाई राजनीतिक झड्का नै लाग्यो । संसद् छिर्ने उपाय खोज्दै यादवले बारा २ बाट चुनाव जित्नुभएका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उपनिर्वाचनमा जानुपर्यो । संसद्‌मा प्रवेशसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्न सफल हुनुभए पनि यादवले न पार्टी जोगाउन सक्नुभयो नत मन्त्री पद नै ।

अहिले १६ वर्षपछि जनकपुरमा दोस्रो महाधिवेशन गरिरहँदा पनि उपेन्द्र यादवको ध्यान भने आफू नेतृत्वमै रहने देखिन्छ ।

मधेशलाई केन्द्रमा राखेर यादवले आदिवासी, जनजाति र खसआर्यलाई आकर्षित गर्न गरेका प्रयास लामो समय टिक्न सकेनन् । बरु मधेशको राजनीतिमा एकछत्र गुम्दै गएको छ भने विश्वासपात्रले साथ छाडेका छन् । सत्ता र शक्तिको केन्द्रमा सधैं रहन खोज्ने यादवलाई यो महाधिवेशनले एकताकै नेता बनाउला कि गुटको ? त्यो भविष्यमा देखिनेछ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।