बालेन फूल हुन् की बारुद ?

चैत्र ७, २०८० |जनक पौड्याल
बालेन फूल हुन् की बारुद ?

प्रधानमन्त्री पुष्पकमल दाहालले भनेअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई उनी लोकतान्त्रिक बगैँचाको फूल ठान्छन् । तर, उनै पुष्पकमल दाहालका लागि बालेन बारुद बनेर पड्कन्छन् । आज म तपाईहरुसँग बालेनका बारेमा एक हप्ताको अन्तरालमा आएका दुईवटा अभिव्यक्ति बारे कुरा गर्दै छु र चर्चा गर्नेछु बालेन फूल हुन् कि बारुद ? 

कान्तिपुर टेलिभिजनमा सोमबार प्रसारित कार्यक्रम फायरसाइडमा प्रधानमन्त्री पुष्पकमल दाहालले महानगर प्रमुख बालेनलाई लोकतान्त्रिक बगैँचाको फूलका रूपमा व्याख्या गरे । दाहालले बालेनलाई यसो भनेको पहिलो पटक होइन, स्वयं उनैले स्थानीय निर्वाचनमा भारी मतका साथ विजयी भएपछि बालेनका बारेमा आफैँले दिएको अभिव्यक्ति सम्झिएका हुन् ।

के साँच्चै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई बालेन फूल नै लाग्छ त ?

एक साताअघिको फायरसाइडमै जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलासा गरेका थिए, प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ बालेनलाई पक्राउ गर्न चाहन्थे । त्यसको कारण थियो, बालेनले फेसबुकमा लेखेको एउटा स्ट्याटस । 

सीके राउतको उक्त खुलासाले खासमा प्रधानमन्त्री दाहाल बालेनका बारेमा के सोच्दछन् भन्ने स्पष्ट हुन्छ । दाहालले पनि स्वीकारेका छन्, बालेनको स्टाटसबारे छलफल गर्न बैठक बसेकै हो ।

यति सुनेपछि अब प्रधानमन्त्रीलाई साँच्चै बालेन फूल लाग्ने रहेछ वा बारुद भन्ने बुझ्न तपाईंलाई द्विविधा भयो कि सुविधा ? त्यो तपाईंकै जिम्मा । तर, एकपटक सोचेर हेरौँ, बालेन फूल हुन् कि बारुद ?

ठूला राजनीतिक दलहरूको हालीमुहाली भएको यो समयमा ती दलहरूका लागि बालेन बारुद नै हुन् । जनमतद्वारा तर्साएका छन् बालेनले उनीहरूलाई । काठमाडौं महानगरमा बालेन निर्वाचित भएपछि त्यसले दिएको सन्देश देशैभरि पुगेको छ, त्यसको आवाज मज्जाले नै सुनिएको छ । त्यो हकमा बालेन बारुद नै हुन् । कतिपय यस्ता निर्णय र काम बालेनले काठमाडौं महानगरको प्रमुखका रूपमा गरेका छन्, त्यसले, मै हुँ भन्नेहरूको मन र मस्तिष्कमा ढ्याङ्ग्रो बजेको छ । त्यो अर्थमा पनि बालेन बारुद नै हुन् ।

बालेन प्रधानमन्त्रीले बगैँचामा देख्ने गरेजस्तो सुन्दर फूल मात्र होइनन्, जसलाई सजाउन सकियोस् र सुगन्ध लिन सकियोस् । उनी त बारुद नै हुन्, जसले बेला-बेलामा ठूला दलहरूलाई आफ्नो काम मार्फत होस् वा अभिव्यक्ति मार्फत थर्कमान बनाइरहेकै छन् ।

यसको पछिल्लो उदाहरण हो, नयाँ गठबन्धनसँगै नयाँ मन्त्रीहरू आएपछि केही दिनअघि बालेनले लेखेको एउटा स्टाटस- जसको आशय थियो, मन्त्रीज्यूहरू समय कम छ, आफ्नो गोजी भरिहाल्नोस् । यो व्यङ्ग्य थियो वा यथार्थ यो त उनै जानून् ।

त्यसो त बालेन आफ्नो काम मार्फत अरू धेरैका लागि कतै फूल त कतै बारुद बनिरहेकै छन् । महानगरभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका सवालमा बालेन फूल हुन् । नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार स्थापित गर्ने सवालमा उनको पहलले उनलाई फूलकै दर्जा दिन्छ । तर, काठमाडौंका सडक व्यापारीमाथि गरिएको अमानवीय धरपकडका सवालमा उनी बारुद हुन् ।

काठमाडौंका सुकुम्बासीमाथि गरिएको जोरजबरजस्तीका सवालमा उनी बारुद नै हुन् । जुन बारुदले धेरैको जनजीविका ध्वस्त बनायो । यो सहरमा जीवन खोज्न आएका सामान्य नागरिकप्रति विकल्प नै नदिई एउटा जनप्रतिनिधिले गरेको यस्ता व्यवहारले बालेनलाई दल र नेतालाई थर्कमान बनाउने भन्दा फरक, विध्वंस मच्चाउने बारुदकै दर्जामा राख्छ ।

पक्कै पनि बालेन हजारौँ युवाहरूको भरोसाको केन्द्र हुन् । उनका लाखौँ समर्थक छन् । प्रधानमन्त्री दाहालले भनेजस्तो लोकतान्त्रिक बगैँचाको फूल माने पनि, दल र नेतालाई थर्कमान बनाउने होस् वा सामान्यजनको रोजीरोटी खोस्ने बारुद माने पनि । उनलाई बिनाशर्त शिरमा चढाउने शुभचिन्तकको संख्या ठूलो छ । तर, तपाईंहरुले पनि आफूले मन पराएको नेता कस्तो होस् भन्ने सवालमा सोच्नु त पर्छ होला ।

प्रिय, बालेनजी तपाईं साँच्चै लोकतान्त्रिक बगैँचाको फूल हो, कि बारुद ? यो प्रश्न सोध्न त पाउनुपर्छ होला । तर, बालेनले आफूलाई प्रश्नभन्दा माथि राखेका छन् । उनले काठमाडौं महानगरको नेतृत्व सम्हालेपछि तपाईंले कहिल्यै पत्रकार सम्मेलनमार्फत प्रश्न-उत्तर गरेको देख्नु भएको छ त? किन उनी प्रश्नहरूको सामना गरिरहेका छैनन् ?

प्रश्नभन्दा माथि त राजा-महाराजाहरु हुन्थे । लोकतान्त्रिक बगैँचामा जनताले छानेको जनप्रतिनिधिलाई जबाफदेही बनाउनकै लागि पनि त प्रश्नहरू सोधिनुपर्छ, जवाफहरू पाउनुपर्छ नि हैन र ? त्यसपछि तपाईंहरुले नै तय गर्नुहोला बालेन फूल हुन् कि बारुद ।


Image

जनक पौड्याल

पौड्याल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement