सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिएका दुई जनाले नाम फिर्ता लिएका छन् । पाँच जनाको उम्मेदवारी परेकोमा राजबहादुर शाही र प्रेमबहादुर सिंहले नाम फिर्ता लिएका हुन् ।
अन्तिममा आएर दुई जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
पार्टीको केन्द्रीय नेतृत्वले अमुक व्यक्तिलाई समर्थन लिएको सूचना पाएपछि उम्मेदवारी फिर्ता लिन तोकिएको समयको अन्तिममा शाही र सिंहले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
‘…केन्द्रीय नेतृत्वको चाहना विपरीत निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’, शाहीले विज्ञप्तिमा भनेका छन् ।
पार्टी केन्द्रको चाहना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि शाहीले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए ।
दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने भएको छ ।