काठमाडौं । नेपाली कांग्रेसको मंसिरमा हुने महासमिति बैठकमा सहभागी हुने प्रतिनिधि अझै २७ जिल्लाबाट छनोट हुन सकेको छैन ।
मोरङ, महोत्तरी, काठमाडौंलगायत २७ जिल्लाबाट महासमिति प्रतिनिधि छनोट गर्न बाँकी रहेको कांग्रेसले जनाएको छ । अहिलेसम्म ५० जिल्लाबाट प्रतिनिधि छनोट भएको र बाँकीको यही असोज २९ गतेसम्म छनोट सक्न कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ । मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुने महासमिति बैठकमा प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जना प्रतिनिधि छनोट भएर सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।
महासमितिमा निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिबाट गरी दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । महासमितिले पार्टीको नीति तय गर्नेछ ।