‘निर्वाचन प्रणाली महँगो भयो, पूर्ण समानुपातिक बनाइयोस्’

श्रावण १२, २०८० |कान्तिपुर टीभी संवाददाता
‘निर्वाचन प्रणाली महँगो भयो, पूर्ण समानुपातिक बनाइयोस्’

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने महिला सांसदहरुको मञ्च अन्तर पार्टी महिला सञ्जालले निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउन माग गरेको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी कानुनको मस्यौदामाथिको छलफलमा सञ्जालले निर्वाचन प्रणाली महँगो हुँदा महिलाहरुले चुनाव लड्नै नसक्ने अवस्था आएको भन्दै पूर्ण समानुपातिक बनाउनुपर्ने माग गरेको हो । अहिले प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारबाट जनप्रतिनिधि चयन हुने मिश्रित प्रणाली अबलम्बन गरिँदै आएको छ ।

सञ्जालका प्रतिनिधिहरुले आयोगले प्रस्ताव गरेको ऐनमा एउटै निर्वाचन क्षेत्रबाट लगातार दुईपटक निर्वाचन लड्न नपाउने र दुईपटक समानुपातिकमा निर्वाचित भइसकेपछि उम्मेदवार बन्न नपाउने, राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने, प्रतिनिधिसभामा ३३ प्रतिशत, प्रदेशमा ४० प्रतिशत र वडाध्यक्षमा ५० प्रतिशत महिला उम्मेदवार बनाइनुपर्नेलगायत प्रस्तावलाई सकारात्मक भनेका छन् । उनीहरुले राजनीतिक नेतृत्वमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराउन पनि आयोगलाई सुझाव दिए ।

अन्तरपार्टी महिला सञ्जालले राजनीतिक नेतृत्वमा महिला सहभागिता बढाउन संविधान संशोधन गर्नुपरे पनि दलहरु तयार हुनुपर्ने जनाएको छ । छलफलमा माओवादी केन्द्रकी नारायणी शर्मा, यशोदा सुवेदी, नेकपा एमालेकी भगवती न्यौपाने, सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठलगायतको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement