संसद्‌मा सांसदहरुको माग- नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस्

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्‌मा सांसदहरुको माग- नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन होस्

काठमाडौं । सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा जारी छलफलमा सहभागी हुँदै सांसदहरुले यस विषयमा संसदीय छानबिन समिति गठनको पनि माग गरे ।

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारका लागि परीक्षा भएको बताए । यस विषयमा कसरी अनुसन्धान भइरहेको छ भनेर नागरिकले हेरिरहेकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले माग गरे । सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुने उनको भनाइ छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदीय छानबिन समितिको माग गरे । अनुसन्धानका क्रममा उच्च तहमा आसिन व्यक्तिको संलग्नताको कुरा आइरहँदासमेत नियन्त्रणमा लिन नसकेको भन्दै रास्वपाले सरकारको आलोचना गरेको छ । राज्यकै निकायको विश्वास नभएको र तीन शीर्ष नेताको गोप्य बैठकले यसमा काम गरेको आरोप रास्वपाको छ ।

दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री र गृहमन्त्री समेतपछि हट्न खोजेको स्वतन्त्र पार्टीको आरोप छ । स्वतन्त्र पार्टीकै सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थीको विषयलाई लिएर यही जेठ १ गते आफूले दर्ता गराएको संकल्प प्रस्ताव के भयो भनेर जानकारी गराउन सदनसमक्ष माग गरेकी थिइन् । संसदमा नीति कार्यक्रममाथि बोल्दै सांसदहरुले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानबिनको कुरासमेत उठाए । सांसदहरुले सातै प्रदेशमा फरक पहिचान हुने विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । प्रदेश र स्थानीय तहलाई संघले नियन्त्रणमा लिन खोजेको आरोप समेत सांसदहरुले लगाएका छन् ।

यसैगरी संघीय संसद्‌को संयुक्त बैठक बसेर संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० संशोधनका लागि संसद्‌मा पेस भएको छ ।

नियमावली मस्यौदा समिति सभापति ध्रुववहादुर प्रधानले संयुक्त बैठकमा समितिको तर्फबाट प्रतिवेदन पेस गरेका हुन् । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठक यही जेठ १४ गतेका लागि बोलाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.