चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा : रामवरण यादव

चैत्र ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा : रामवरण यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको धारणा राखेका छन् ।

काठमाडौंमा बिहीबार ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा उनले चुनावपूर्वको गठबन्धनले कांग्रेसलाई घाटा भएको जनाए । उनले पार्टीहरुले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने जनाए । एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ताहरु पछि पार्टीसँग जोडिएर जान नसक्नेमा उनले शंका व्यक्त गरे । उनले नेपाली कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई दर्द हुने पनि गुनासो गरे ।

‘प्रिएलाइन्स गरेर गयो भनेर अहिले कति लोकतन्त्रवादीलाई घाटा भएको छ । खास गरेर कांग्रेसलाई घाटा भएको छ । हामी कांग्रेसी छैनौँ । म नै छैन अहिले । दमनजी पनि हुनुहुन्न । कृष्णजी पनि हुनुहुन्न । तर कांग्रेसको कुलबाट आयो भने भन्छौं कि हामी कांग्रेसी छैनौं । तर दर्द हुन्छ । कांग्रेसले जुन अगुवाइ गर्न सक्दैन । देश बनाउनमा इमानदारीपूर्वक जो अगाडि बढ्न सक्दैन । त्यसले गर्दा हामीलाई दर्द हुन्छ,’ उनले भने, ‘म भन्न चाहन्छु कि पार्टी खडा गरेर, पार्टीको आफ्नो सिद्धान्त, आफ्नो आदर्श, आफ्नो सारा कुराहरु जनतामा भन्ने र जनसंग्रह गरेर जनकल्याणका लागि अगाडि बढ्ने । जनसंग्रहमा यो प्रिएलाइन्सले र एक-अर्काको भोट दिनेले कांग्रेसको कार्यकर्ताहरु जुन छ, साधारण जनता जुन छ, त्यो भोलि तपाईंसँग जोडिएर जान्छ कि जादैनँ ? त्यसको स्थिति के होला ?’

प्रथम राष्ट्रपति यादवले नेपाली कांग्रेसका पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको दाबी गरे । उनले कांग्रेसका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत त्याग र योगदानबारे पछिल्लो पुस्ताका कांग्रेसीहरुलाई प्रशिक्षित गर्नु आवश्यक रहेको धारणा राखे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement