प्रधानमन्त्री एक्लैको नेतृत्वमा १६ वटा मन्त्रालय, कर्मचारीको बढुवादेखि बजेट निर्माणमा असर (भिडियो रिपोर्ट)

चैत्र ३, २०७९ |किरण अधिकारी
प्रधानमन्त्री एक्लैको नेतृत्वमा १६ वटा मन्त्रालय, कर्मचारीको बढुवादेखि बजेट निर्माणमा असर (भिडियो रिपोर्ट)

काठमाडौं । तपाई अनुमान गर्न सक्नुहुन्छ ? एउटा मन्त्रीले कतिवटा मन्त्रालयको नेतृत्व गर्न सक्छ ? सामान्य अवस्थामा एउटा मन्त्रालयमा प्रभावकारी काम गर्न मन्त्रीलाई भ्याइनभ्याई हुन्छ । नेपालमा सरकारको बनोट हेरेर भागबन्डा मिलाउन कहिले मन्त्रालय टुक्राउने गरिएको छ त कहिले एकै व्यक्तिले दुई-तीनवटा मन्त्रालय चलाउने प्रचलन छ । एकपटक कल्पना गर्नोस्, प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कतिवटा मन्त्रालय आफूसँग राखेका छन् ?

प्रधानमन्त्री दाहालले एक्लै १६ वटा मन्त्रालयको नेतृत्व गरिरहेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि खाली बनेका मन्त्रालयका फाइल प्रधानमन्त्रीको टेबलमा चाङ लागेको छ ।

सिंहदरबारभित्र अधिकांश मन्त्रीको कार्यकक्षमा देखिने 'नेमप्लेट' मा 'प्रधानमन्त्री पुष्पकमल दाहाल' लेखिएको देखिन्छ । महिला मन्त्रीको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् । गृह, रक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका साथै उद्योग, कृषि, खेलकुदलगायतका मन्त्रालयमा पनि प्रधानमन्त्री दाहालकै नेमप्लेट छ । कतै मन्त्रीको नेमप्लेट खाली देखिन्छ ।

एकजना मन्त्रीले गर्नुपर्ने काम के हो ? मन्त्री पद खाली हुँदा मन्त्रालयको काममा के-कस्तो बाधा पर्छ ? कतिपय सरकारी अधिकारीको दाबी छ, मन्त्री नहुँदा पनि नियमित काममा बाधा पर्दैन ।

मन्त्रीको कुर्सी खाली भए पनि काम चल्ने कर्मचारीहरुले दाबी गरिरहँदा कानुन मन्त्रीको अनुपस्थितिमा न्यायपरिषदको बैठक बस्न सकेको छैन । न्यायपरिषदले काम नगर्दा खाली भएका विभिन्न जिल्ला र उच्च अदालतका न्यायाधीशहरुको नियुक्ति हुन सकेको छैन । त्यस्तै, गृहमन्त्री नहुँदा प्रहरी अधिकृतहरुको बढुवामा पनि ढिलासुस्ती देखिएको छ । त्यस्तै, नयाँ बजेटको तयारी गर्ने बेलामा अर्थमन्त्री नहुँदा बजेट निर्माणमा असर परिरहेको छ ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणको तयारीमा छन् । यस्तो महत्वपूर्ण भ्रमणका बेला परराष्ट्रमन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । तर, परराष्ट्रमन्त्रीको भूमिका पनि प्रधानमन्त्री दाहालले आफैं निभाइरहेका छन् ।

प्रधानमन्त्री दाहालले वन, खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, ऊर्जा, सहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य मन्त्रालय पनि आफैंसँग राखेका छन् । १६ वटा मन्त्रालयमा मन्त्री नहुँदा रोकिएका कामको फेहरिस्त लामो छ । जसमा त्यस्ता कामको विवरण मन्त्रालय उपलब्ध गराउनै चाहँदैन । तर, मन्त्रीको बाटो हेरेर बसेको छ । प्रधानमन्त्रीको तयारी भने चैत ६ गते विश्वासको मत लिएपछि मात्र नयाँ मन्त्री थप्ने छ । 


Image

किरण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।