नयाँ सरकारका सम्भावित ५ दृश्य : अहिलेकै गठबन्धनको बहुमत पुग्ला ?

मंसिर ११, २०७९ |अरुण बराल
नयाँ सरकारका सम्भावित ५ दृश्य : अहिलेकै गठबन्धनको बहुमत पुग्ला ?

काठमाडौं । निर्वाचनको पछिल्लो परिणामले एउटै दलको बहुमत नपुग्ने सन्देश दिएपछि शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालवीच भेटवार्ता भयो । नेताहरुले अहिलेकै गठबन्धनलाई निरन्तरता दिएर सरकार गठन गर्ने बताएका छन् । योसँगै प्रश्न उब्जन्छ– अहिले सरकारमा रहेका पाँचदल मिल्दा बहुमत पुग्छ त ?

निर्वाचनको परिणाम अनुसार एउटै दलको बहुमत नपुग्ने निश्चित भइसकेको छ । यो अवस्थामा अब संविधानको धारा ७६ को उपधारा (२) अनुसार विभिन्न दलको मिलिजुली सरकार बनाउने विकल्पतर्फ जानैपर्ने देखिन्छ । उपधारा (२) अनुसार दलहरु मिल्न सकेनन् भने उपधारा ३ अनुसार ठूलो दलले अल्पमतको सरकार बनाउन पाउँछ ।

मिलिजुली सरकार गठनका लागि अहिलेसम्म देखिएका सम्भावित विकल्पहरु मूलतः पाँच वटा छन्–

एक– अहिलेकै सत्ता गठबन्धन दलहरु मिलेर सरकार बनाउने ।

दुई– कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनाउने ।

तीन– वामपन्थीहरुको गठबन्धन बनाउने ।

चार– कांग्रेस र माओवादी बाहेक दललाई समेटेर एमालेको नेतृत्वमा सरकार बनाउने ।

पाँच– कांग्रेस र एमालेले मिलेर सरकार बनाउने ।

संसदीय अंकगणितका आधारमा अब बन्ने गठबन्धन सरकारको सम्भावित परिदृश्य यिनै पाँचवटा विकल्पको सेरोफेरोमा हुनेछ । र, यसरी गठन हुने सरकारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीले नै प्रधानमन्त्री बन्ने प्रयास गर्नेछन् ।

अब सरकार गठनका पाँच विकल्पमाथि छलफल गर्नुअघि संसदको अंकगणितबारे चर्चा गरौं ।

प्रत्यक्षर्फ १६५ र समानुपातिकतर्फका ११० सिट जोड्दा प्रतिनिधिसभाको कुल सिट संख्या २७५ छ । यसबाट बहुमतको सरकार बनाउन १३८ सांसद चाहिन्छ ।

आइतबार बिहानसम्म प्रत्यक्षतर्फ १५६ सिटको नतिजा आएको छ । ६ सिटमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङजासमेत ३ सिटमा विवादका कारण मतगणना नै सुरु भएको छैन । समानुपातिकतर्फको पनि गणना सकिइसकेको छैन ।

अब दलहरुले जितेका १५६ सिट र तिनले पाएको अग्रतालाई समेत जोडेर त्यसमाथि समानुपातिकबाट पाउने सम्भावित संख्यालाई थपेर उनीहरुको सम्भावित सिटको एउटा नमूना लिऔं–

१. पहिलो दल– नेपाली कांग्रेस : जितेको ५३, अग्रता ३ र समानुपातिकको सम्भावित (२८ लाख आएमा) ३५ सिट । जम्मा– ९१ सिट ।

२. दोस्रो दल– नेकपा एमाले : जितेको ४१, अग्रता २ र समानुपातिकको सम्भावित (२९ लाख आएमा) ३६ सिट । जम्मा– ७९ सिट ।

३. तेस्रो दल– नेकपा माओवादी केन्द्र : जितेको १७ र समानुपातिकको सम्भावित (१२ लाख नाघेमा) १५ सिट । जम्मा– ३२ सिट ।

४. चौथो दल– राष्ट्रिय स्वतन्त्र पार्टी : जितेको ७ र समानुपातिकको सम्भावित (१२ लाख नाघेमा) १५ सिट । जम्मा– २१ सिट ।

५. पाँचौं दल– राष्ट्रिय प्रजातन्त्र पार्टी : जितेको ७ र समानुपातिकको सम्भावित (६ लाख नाघेमा) ८ सिट । जम्मा– १५ सिट ।

६. छैठौं दल नेकपा एकीकृत समाजवादी : जितेको १० र समानुपातिकको सम्भावित (३ लाख नाघेमा) ४ सिट । जम्मा– १४ सिट । (थ्रेसहोल्ड नकटाएमा यो दल १० सिटमै सीमित हुनेछ)

७. सातौं दल – जनता समाजवादी पार्टी : जितेको ६ सिट र समानुपातिकको सम्भावित (३ लाख नाघेमा) ४ सिट । जम्मा– १० सिट । (थ्रेसहोल्ड नकटाएमा यो दल ६ सिटमै सीमित हुनेछ)

थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने सम्भावना बोकेका यिनै सात दल हुन् । यीमध्ये एकीकृत समाजवादी र जसपाले अहिलेसम्म आफूलाई सुरक्षित गरिसकेको अवस्था छैन ।

राष्ट्रिय दलबाहेक अन्य खुद्रा सिटको संख्या संसदमा विगतभन्दा धेरै देखिएको छ । लोकतान्त्रिक समाजवादी ४, स्वतन्त्र ४ र नागरिक उन्मुक्ति पार्टी ३ सिट जितेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन् । यी सबै जोड्दा प्रतिनिधिसभामा १४ सिट पुग्छ ।

अब यो सम्भावित ‘कम्पोजिसन’ का आधारमा भावी सरकार कसको बन्ला भन्नेबारे विश्लेषण गरौं ।

२. माओवादीलाई बाहिरै राखेर कांग्रेसको सरकार बन्ला ?

चुनावका बेला गठबन्धनभित्र विभिन्न ठाउँमा घात–अन्तरघात भएकाले माओवादी र कांग्रेसको सम्बन्ध केही चिसिएको छ । यो स्थितिमा माओवादी थप बिच्कियो र उसलाई बाहिरै राखेर सरकार बनाउनुपर्ने स्थिति आयो भने कांग्रेसलाई बहुमत जुट्ला त ? यो दोस्रो प्रश्न हो ।

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र लोसपासमेत लाई मिलाउँदा लगभग ११४ सिट पुग्छ । एमाले र माओवादी बाहेक अन्यलाई कांग्रेसले समेट्न सक्यो भने गैर कम्युनिष्टहरुको पनि बहुमत पुग्न सक्छ । किनभने, यसपालि प्रतिनिधिसभामा साना दल र स्वतन्त्र(बागी) हरुको संख्या १४ छ, यसले सरकार गठनमा प्रभाव पार्न सक्छ ।

माओवादीलाई बाहिरै राखेर सरकार बनाउन कांग्रेसलाई अंकगणितले साथ दिए पनि चुनावमा मिलेर लडेका देउवा र दाहालले अहिलेसम्म आपसी सम्बन्धविच्छेदको लाइन लिइसकेका छैनन् । केपी ओलीले सहकार्यको प्रस्ताव राखे पनि माओवादी अध्यक्ष दाहालले कांग्रेससँगै सहकार्यमा जोड दिने संकेत दिएका छन् । माओवादीलाई बाहिर राख्नु जोखिमपूर्ण हुने देउवाले सोचेका हुन सक्छन् ।

३. के वाम गठबन्धनको सरकार बन्न सक्छ ?

तेस्रो विकल्प भनेको वामपन्थी गठबन्धनको सरकार बनाउने हो । मतगणना जारी रहँदै दोस्रो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर बधाईसँगै सहकार्यको प्रस्तावसमेत राखिसकेका छन् । तर, त्यसको भोलिपल्टै बालुवाटारमा देउवा–दाहालको भेट भएमा पहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति बनेको नेता बताउँछन् । यो भेटले वाम गठबन्धन वा ओलीले राखेको ‘सहकार्य’ को प्रस्तावलाई वेवास्ता गर्दै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने लाइनमा दाहालले भूमिका खेल्ने सम्भावना बढेको छ ।

वाम गठबन्धनको सरकार बनाउनका लागि १३८ सिट चाहिन्छ । एमाले र माओवादीको सम्भावित सिट करिब १०७ मात्र पुग्ने देखिन्छ । यसमा एकीकृत समाजवादी थपिँदा ११७ पुग्न सक्छ । नेमकिपा, जनमोर्चा र उपेन्द्र यादवसमेत थपिँदा पनि १३० सिटको हाराहारी पुग्छ ।

चुनावमा सहकार्य गरेको हुनाले एमालेले राप्रपा, लोसपालाई पनि ल्यायो भने कम्युनिष्टको नेतृत्वमा सरकार बन्न सक्छ । कम्युनिष्ट, राजावादी र मधेसवादीसमेतको संयुक्त सरकार बनाउन संख्याले साथ दिन्छ । तर, कम्युनिष्ट र राजावादी मिलेर बन्ने त्यस्तो सरकारको विपक्षमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी हुनेछन्, जसले भविष्यमा कम्युनिष्टहरु जनतामा थप बदनाम हुने जोखिम बढानेछ ।

४. कांग्रेस र माओवादी दुबैलाई बाहिर राखेर एमालेको नेतृत्वमा सरकार बन्न सक्छ ?

कांग्रेस र माओवादीको सम्भावित सिट १२० हो । एकीकृत समाजवादीले एमाले नेतृत्वमा सरकारमा जान मानेन भने विपक्षी मोर्चामा १३० सिट रहन्छ । तर, अरु दल र स्वतन्त्रलाई समेत जोड्यो भने एमालेले पनि कांग्रेस–माओवादीलाई–एकीकृत समाजवादीलाई विपक्षी मोर्चामै राखेर आफूले बहुमत जुटाउन सक्ने सम्भावना देखिन्छ ।

यसो गर्नका लागि एमालेले राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र १४ सिट होल्ड गरेका साना पार्टीहरुका साथै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि साथ लिनुपर्ने हुन्छ । राप्रपा र जसपा एमाले गठबन्धनमै छन् । रवि लामिछानेको पार्टीले सरकारमा जाने, नजाने निर्णय गरिसकेको छैन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भने सरकारमा जाने संकेत देखाइसकेकी छिन् ।

५. कांग्रेस–एमाले मिलेर सरकार बनाउने सम्भावना कति ?

सरकार गठनको पाँचौं विकल्प हो– एमाले र कांग्रेसले मिलेर सरकार बनाउने । यी दुई दल मिल्दा आरामदायी बहुमत पुग्छ । तर, यो सम्भावना दुईवटा कारणले क्षीण छ । एक– दुबै दल मुख्य प्रतिस्पर्धी हुन् । दोस्रो– अन्य दललाई नै मिलाएर सरकार बनाउन सक्ने सुविधा कांग्रेस र एमाले दुबैतिर छ । यो स्थितिमा दुबै दलले अन्य पार्टीहरुलाई मिलाएर सरकार बनाउन जोड गर्ने सम्भावना नै बढी देखिन्छ ।

अन्त्यमा,यो कुरा भुल्न मिल्दैन, आम मतदाताले यसपालि नयाँ परिवर्तन खोजेका छन् । यो परिवर्तनको आकांक्षालाई आत्मसाथ गर्दै कांग्रेस र एमालेले प्रधानमन्त्रीमा नयाँ युवा अनुहारलाई अघि सार्न सके भने राजनीतिमा नयाँ तरंग आउन सक्छ । तर, पुराना दलका नेताहरु नयाँलाई अवसर दिने भन्दा पनि आफैं कुर्सीमा पुग्ने दाउमा लागेका छन् । यसरी सामान्य अंकगणितलाई मिलाएर पुरानै अनुहारका लागि राजनीतिक जोडघटाउमा लाग्ने हो भने यसले एकथान सरकार त देला, तर जनतामा उत्साह र आशा जगाउन भने सक्ने देखिँदैन ।