
म्याग्दी । म्याग्दी प्रहरीले ठूलो संख्यामा अवैध हतियार बरामद गरेको छ ।
मंसिर १५ गतेदेखि 'अप्रेसन ब्राभो सेरा' अप्रेसन सञ्चालनगरी एक महिनाको अवधिमा एक सय १५ थान अवैध भरूवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसन्न आम निर्वाचनको सुरक्षार्थ तथा चोरी सिकार नियन्त्रण गर्न सञ्चालन गरेको अभियानमा अहिलेसम्मकै धेरै भरूवा बन्दुक नियन्त्रणमा लिन सफल भएको म्याग्दी प्रहरी प्रमुख प्रहरी नायवउपरीक्षक सूर्यबहादुर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
थापाका अनुसार अप्रेसनबाट सबैभन्दा बढी रघुगंगा गाउँपालिकाबाट ४८, अन्नपूर्णबाट १६, मालिकाबाट २०, मंगलाबाट १४, धवलागिरीबाट ६ थान र बेनी नगरपालिकाबाट ११ थान इजाजत नभएका भरूवा बन्दुक बरामद भएका हुन् । प्रहरीले बरामद गरेका प्रायः भरुवा बन्दुक स्थानीयस्तरमै निर्मित भएका छन् । इजाजत नभएका भरुवा बन्दुक बरामद भए पनि प्रहरीले हतियार राख्ने कसैलाई पनि पक्राउ गरेको छैन् ।