थाहा नगरपालिकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

उप-मेयर भरत गोपालीको घरभित्र पस्याे बस
जेष्ठ १३, २०८२ |बालकृष्ण अधिकारी
थाहा नगरपालिकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन घाइते

काठमाडौं । त्रिभुवन राजपथको थाहा नगरपालिका-३ मा हिजो साँझ भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएकाे छ । दुर्घटनामा तीन जना घाइते भएका छन । दुर्घटनामा परी थाहा नगरकपालिका-१ स्थित झम्केश्वरी माविका दुई शिक्षकको मृत्यु भएको हो ।

बसको ठक्करबाट मृत्यु हुनेमा थाहा नगरपालिका-९ का ३४ वर्षीय कृष्ण बलामी, सप्तरी विष्णुपुर-५ लोकेन्द्रकुमार ठाकुर र सिराहा औराही नगरपालिकाका ३३ वर्ष रघुनन्दन यादव रहेका छन । ठाकुर र यादव थाहा नगरपालिका झम्केश्वरी माविका शिक्षक हुन । बलामी र ठाकुरको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते कमलेश कुमार साहको काठमाडौंमा उपचार भइरहेको छ । बारा जितपुर सिमराका ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन । 

चौधरी र लामाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ । मृतक तीन जना र घाइते तीन जना पैदलयात्री हुन । थाहा नगरपालिका-३ शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल हुँदा सडकमा हिँडिरहेका ६ जनालाई ठक्कर दिई थाहा नगरपालिकाको उप-मेयर भरत गोपालीको घरभित्र बस पसेको थियो । 

बस चालक मकवानपुर थाहा नगरपालिका-५ बसन्तका २९ वर्षीय राजेश कार्की प्रहरी नियन्त्रणमा रहेका छन ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।