कपिलवस्तु । नेपालमा पाइने ९० प्रतिशतभन्दा बढी कछुवा खतराको सूचीमा छन । वन क्षेत्रमा बोट बिरूवाका बीउ फैलाएर वन संरक्षणमा विशेष योगदान पुर्याउने कछुवा संरक्षणमा सरकारी तत्परता देखिदैन।
ठूला वन्यजन्तुलाई मात्र प्राथमिकतामा राखेर नीति निर्माण हुने हुँदा कछुवालगायतका जीवको अस्तित्व संकटमा पर्दै गएको हो । पछिल्लो ६ वर्षदेखि मे २३ तारिखलाई विश्व कछुवा दिवसका रूपमा मनाउनुबाहेक अध्ययन, अनुसन्धान र संरक्षणमा राज्यको ध्यान गएको देखिँदैन ।
कछुवाले जलीय प्रणालीमा भएका सडेगलेका चीज वस्तु खान्छ । फोहर सिनो र मासुका टुक्रा पानी मिश्रण हुन नदिएर जलीय कुचिकारका रूपमा महत्वपूर्ण भूमिका खेल्छ ।
यसले सीमसार तथा नदीभित्र पाइने वनस्पति खाइदिएर अन्य जीवका लागि वासस्थान निर्माण गरिदिन्छ । ठूलो कछुवाले समुद्र र ठूलठूला नदीमा जियोलोजिकल इञ्जिनयरको काम गर्छ । अन्य प्रजातिका जीवलाई माटो खनेर बस्ने आश्रयस्थल पनि बनाइदिन्छ ।
नेपालमा १७ प्रजाति र दुई उपप्रजातिका गरी १९ खालका कछुवा नेपालमा पाइन्छन् । यिनमा विश्वमै अति संकटापन्न ४, संकटापन्न ७, संवेदनशील दुई र लोपोन्मुख तीन र कम चासो दिइएकामा ३ प्रजातिका पर्छन् । कछुवा सालको जंगलमा बढी पाइन्छ ।
नेपालमा कछुवा निक्कै कम अध्ययन हुने जीवमा पर्छ । त्यही भएर नेपालमा यसबारे धेरै कुरा बाहिर आएको छैन । बाघ, गैंडा, हिउ-चितुवाजस्ता ठूला जीवमा अध्ययन अनुसन्धान केन्दि्रत हुदा ससाना जीवजन्तु ओझेलमा छन । सरकारले अहिलेसम्म कछुवा संरक्षणको कुनै कार्ययोजना नै बनाएको छैन ।
लजालु स्वभावको कछुवा अधिकांश समय लुकेर बस्छ । वन फडानी, आगलागी, बढ्दो सहरीकरण, पानीको स्रोतमा ह्रास, वनक्षेत्रमा विषादी प्रयोग बढ्नु, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले कछुवा झन् संकटमा परेको विभिन्न अध्ययनले देखाएको छ ।
जल प्रदूषण, चोरी शिकार, वन डढेलो र जलवायु परिवर्तनले पनि कछुवालाई संकटमा पारिरहेको छ । हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका मान्ने कछुवा नेपाल र भारतका कयौं मन्दिरमा चढाउन अवैध ओसारपसार हुँदासंरक्षणमा चुनौति थपिएकोछ ।
कछुवाले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ । पानीमा पाइने वनस्पतिको उत्पादकत्व बढाउन सघाउँछ ।