जुम्लाका युवाहरू यार्सा टिप्न पाटनमा, गाउँहरू सुनसान

जेष्ठ ७, २०८२ |डीबी बुढा
जुम्लाका युवाहरू यार्सा टिप्न पाटनमा, गाउँहरू सुनसान

जुम्ला । जुम्ला पातारासी-४ का गोरबहादुर बुढा यार्सा टिप्न पाटनतिर हानिएको हप्तादिन भइसक्यो । उनी गाउँका युवाहरू लिएर पाटनतिर गएका छन । दश वर्षदेखि निरन्तर पाटन गइरहेका उनी यार्सा टिपेर परिवारको खर्च धानिरहेका छन ।

गाउँमा स्वरोजगारका कुनै अवसर प्राप्त नहुने भएपछि हरेक वर्ष पाटनको यात्रा गर्छन । कहिले ५० हजार त कहिले एक लाख रूपैयाँ कमाएर फर्कन्छन् । त्यो रकम उनको परिवारको लागि झण्डै एक वर्षको खर्च हो ।

उनले भने, ‘कालापहाड गएर अर्काको गुलाम गर्नुभन्दा आफ्नै पाटनका फाँटहरूमा रमाएर यार्सा टिप्न जानु कैयन आनन्द मिल्छ । तर हिउँ पर्ने र हिमपहिरो आउने त्रासले सधैं मन भने पिरोलीरहन्छ ।’ यार्सा भेटिए त भोक, प्यास, थकानको अनुभव नै हुदैन् तर कहिलेकाहीँ भनेटिदा निकै चित्त दुखिरहेको हुन्छ ।

अर्का जीवन महतारा पनि यार्सा टिप्न डोल्पा पाटन उक्लिएका छन । जेठ ५ गतेदेखि वन क्षेत्र खुला गरेकोले उनी दौतरी लिएर पाटनतिर गए । दुई महिना पाटनमा खटिन सके कालापहाडको यात्रा गर्नुपर्दैन, जीवनले भने, ‘वर्षेनीको आम्दानीको स्रोत नै यार्सा हो । यार्साले जीवन पनि बदल्छ त कहिले जीवन पनि गुमाउँछ ।’ खेतबालीले खासै उत्पादन नदिने भएकोले पाँच वर्षदेखि पातारासीकी सिर्जना ऐडी पाटनमै यार्सा टिप्न गइरहन्छिन् ।

उनका लागि पाटन आयआर्जनको माध्यम नै हो । ‘बारीमा अन्न रोपौं भने अनुसारको उत्पादन दिँदैन् । त्यही भएर पाटनको यार्सा नै प्यारो लाग्छ’,उनले भनिन्,। गोरबहादुर जीवन र सिर्जना प्रतिनिधिमात्रै हुन । 

उनी जस्ता सयौं जुम्ली युवाहरू यार्सा टिप्न मुगु र डोल्पाका पाटनहरूमा पुगेका छन । यो वर्ष मौसम खराब देखिएकोले त्रासैत्रासमा पाटन क्षेत्रमा युवाहरू गइरहेको स्थानीय बताउँछन । त्यहाँका स्थानीयको मुख्य आम्दानी भनेको यार्सा नै हो । अहिले पातारासी १ देखि ७ सम्मका वस्तीहरूमा युवाहरू भेटन मुस्किल पर्छ । युवाविहिनका गाउँहरू बुढाबुढी र बालबालिकाको भरमा छन ।

जोखिम मोलेर पाटन जानु रहर होइन् । घरको उत्पादनले १२ महिना खाना पुग्दैन, सिर्जनाले भनिन्,‘घर खर्चदेखि बालबच्चालाई स्कुल पढाउन लेखाउन, लुगाफाटो किन्न समेत यार्सा संकलन गर्न पाटन जानुको विकल्प छैन ।’ अहिले किशोरकिशोरी, युवायुवतीहरू पाटन गइसकेकोले विद्यालयको पठनपाठन पनि प्रभावित बनेको छ ।

पातारासी गाउँपालिका-२ मा रहेको सरस्वती माबिका तल्फीका सहयोगी चुम्मा बोहोराका अनुसार माथिल्लो कक्षका अधिकांश विद्यार्थी पनि पाटन पुगिसकेका छन । अहिले आधारभूत तहका विद्यार्थी मात्रै पढ्न आउँछन् । 

पाटनमा यार्सा टिप्न जुम्लाको सिंजा, कनकासुन्दरी, हिमा, तिला, तातोपानी र चन्दननाथ नगरपालिकाबाट समेत युवायुवतीहरू पाटनमा पुग्ने गरेका छन । १२ वर्षदेखि ५० वर्ष सम्मका सबै मानिसहरू पाटनमा जाने भएकोले गाउँहरू सुनसान नै छन । 

गाउँमा दुखी बिरामी पर्दा रेखदेख गर्ने समेत मान्छे पाइदैनन् । जुम्लाका ९० प्रतिशत युवाहरू यार्सा खोज्न पाटन जाने गरेको अनुमान गरिएको छ । अहिले युवाहरू गाडी रिर्जब गरेर पाटन जान्छन् । 


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।