उपल्लो डोल्पाको छार्का भोटमा पहिलोपटक गाडी, डोल्पाबासी उत्साहित

वैशाख १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपल्लो डोल्पाको छार्का भोटमा पहिलोपटक गाडी, डोल्पाबासी उत्साहित

डोल्पा । विश्वकै अग्लो ठाउँको बस्ती दाबी गरिएको उपल्लो डोल्पाको छार्का भोटमा पहिलोपटक गाडी पुगेको छ ।

कालीगण्डकी कोरिडोर हुँदै मुस्ताङबाट छार्का ताङसोङ गाउँपालिकाको केन्द्र छार्काभोटमा मङ्गलबार पहिलो पटक दुईवटा जिप पुगेका हुन् । छार्का भोट बस्ती समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइँमा छ । 

डोल्पा र मुस्ताङ जोड्ने पक्की पुल निर्माण भएर सञ्चालनमा आएसँगै बोलेरो जिप छार्काभोट पुगेका हुन् । मुस्ताङबाट डोल्पा पुगेका जिपलाई ठाँउ-ठाउँमा डोजरले तानेर ल्याएको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरूङ्गले बताउनुभयो । 

गाउँमा जिप पुगेपछि उपाध्यक्ष गुरूङ्गले अब भोट क्षेत्रका नागरिकले सहजै पोखरा काठमाण्डौसम्म यात्रा गर्नसक्ने भन्दै खुशी व्यक्त गर्नुभयो । मुस्ताङबाट जिप डोल्पा पुगेपछि उपल्लो डोल्पाबासी उत्साहित देखिएका छन् तर सडक भने जोखिमयुक्त छ। 

चीनको मरिम्लादेखि भारतको जमुनाहा नाका जोड्ने भेरी कोरिडोर बन्न नसक्दा उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका नागरिक सडक सञ्जालबाट बञ्चित हुनुपरिरहेको छ। 

सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जोड्ने दुनै ल्यासिक्याप सडक अलपत्र रहेको र ल्यासीक्या सिशौल ३३ किलोमिटर खण्डमा कडा चट्टान रहेकोले निर्माण नै सुरू हुन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.