काठमाडौं । देशभरको मौसममा सामान्य बदली देखिएको छ । पश्चिमी र स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा बदली भएको हो ।
देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।