धानमा रोग लागेपछि पाल्पाका किसान समस्यामा

आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
धानमा रोग लागेपछि पाल्पाका किसान समस्यामा

पाल्पा । पाल्पाका अधिकांश स्थानमा लगाइएका धान खेतीमा हृवाइट फ्लाई, कालो पोके, फड्के, डडुवा रोगका कारण किसान समस्यामा छन् । 

प्राविधिक ज्ञानको अभावमा जथाभावी बीउ प्रयोग गर्ने, रासायनिक मलको अत्यधिक प्रयोग गर्दा विभिन्न खालका रोगको सामना गर्नु परेको कृषि प्राविधिकले बताएका छन् ।

पाल्पाका अधिकांश स्थानमा डढुवा, पोके रोग, झ्याउरो भएर नबढ्ने जस्ता समस्या देखिएको रामपुर नगरपालिका ५ का किसान नारायण भण्डारीले जानकारी दिनुभयो । रोगबाट बच्न समयमा कृषि प्राविधिक सेवा नपाउने, रोग लागिसकेपछि नियन्त्रण गर्न नसक्दा थप समस्या भएको किसानले बताएका छन् ।

किसानका अनुसार धानको फुल खेल्ने बेलामा आएको झरीले फुल झारेकाले धानमा बाला लागे पनि भरिलो भएको छैन । पाल्पामा अघिल्लो वर्ष ३० हजार एक सय मेट्रिक टन धान उत्पादन भएको थियो ।

पाल्पाको माडीफाँट, रामपुरफाँट, पूर्वखोला, झडेवा, अर्गली, कचल लगायतका फाँटमा धान खेती गरिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.