नम्बर याद गर्नुहोस् त १-१-१-१। यसलाई तपाई एघार-एघार भनेर पनि सम्झिन सक्नुहुन्छ। यो नम्बरमा डायल गर्नुभयो भने सिधै सरकारलाई फोन जान्छ । पैसा पनि लाग्दैन ।
खासमा सरकार, सरकारी निकाय वा सरकारी प्रणालीमाथि केही गुनासो भए यहि नम्बरमा फोन गर्न सकिन्छ। वा, तपाईँ ठगिमा पर्नुभयो, अनुसन्धान तहकिकात गर्ने निकायले तपाईँको कुरै सुनेनन् भने यो नम्बर दबाउन सकिन्छ।
उताबाट तपाईँलाई कसैले भन्नेछ – नमस्कार । हेलो सरकारमा तपाईँलाई स्वागत छ।
२४ सै घन्टा यसरी फोन उठाउँछन् हेलो सरकारका यी कर्मचारीहरुले ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार हाताभित्र रहेको कार्यालयमा ३ सिफ्टमा २४ सै घन्टा ३० जना कर्मचारीहरु यसरी नै नागरिकको गुनासो सुन्छन् । अनि तत्काल त्यहिँबाट सुल्झिने विषयलाई सुल्झाई पनि हाल्छन् । सरकारले 'हेलो सरकार' नामको नागरिकको गुनासो सुन्ने संरचना बनाएको पनि यसैका लागि हो।
नागरिकले टोल फ्रि नम्बर चारबटा १, क्यूआर स्क्यान गरेर, हलो सरकारको फेसबुक, टिकटक, ट्विटर, लिंक्डइन, जीमेल, वेबसाइट र फोन नम्बरहरुमा सम्पर्क गरेर गुनासो राख्ने व्यवस्था मिलाइएको छ । त्यसबाहेक कार्यालयमै पुगेर पनि गुनासो दर्ता गराउन सकिन्छ ।
सामाजिक सञ्जालहरुमा उठाइएका बहस र मुद्दाहरुमा पनि कर्मचारीले ध्यान दिने गरेका छन् । हामी हेलो सरकारको कार्यालयमै हुँदा दुई जना गुनासोकर्ता आइपुगे । उनीहरुले लिखित रुपमा आफ्नो गुनासो दर्ता गराए । गुनासो सुन्नेवित्तिकै कर्मचारीहरु काममा खटिहाले ।
यसरी आएका गुनासाहरुमध्ये गम्भीर विषयलाई विशेष प्राथामिकता दिइन्छ। तत्काल नसुल्झिएका गुनासाहरु सम्बन्धित निकायलाई सुनुवाइको प्रक्रिया अघि बढाउन अनुरोधसहित सिस्टमबाटै म्यासेज पठाइन्छ । त्यतिमामात्र काम सकिँदैन । गुनासो राख्ने व्यक्तिलाई पुन: सम्पर्क गरेर गुनासो कहाँ पुग्यो र के भइरहेको छ भनेर जानकारी पनि दिइन्छ ।
अनि गुनासोबारे निरन्तर फलोअप गर्छन्, गुनासो फर्छ्योट नहुँदासम्म । सोमबार २४ घन्टामा १ हजार ४ सय ६३ गुनासाहरु हेलो सरकारमा दर्ता भएका छन् । मंगलबार अपराह्न ४ बजेसम्म हेलो सरकारमा कुल १ लाख ५३ हजार ५ सय २३ गुनासो दर्ता भएका छन् ।
जसमध्ये ९० हजार ३ सय ७४ अर्थात ५८.८७ प्रतिशत गुनासोहरु हेलो सरकारकै कक्षबाट फर्छ्योट भएको कार्यालयले जनाएको छ । कार्य प्रक्रियामा रहेका १३.७४ प्रतिशत छन् भने अनुसन्धान हुँदै गरेका १३.२३ प्रतिशत छन् । ६.९८ प्रतिशत गुनासा भने हेर्न भ्याइएको छैन।
कार्यालयले विभिन्न निकायमा पठाएका मध्ये भने जम्मा ४.४९ प्रतिशत गुनासा मात्र समाधान भएका छन् । वर्तमान सरकार गठन भएपछिको ४ महिनामा मात्रै ५९ हजार ७ सय ३१ गुनासोहरु दर्ता भएकामा २५ हजार ४ सय ४३ बटा फर्छ्यौट गरिएका छन् । यो भनेको ४२.५९ प्रतिशत हो ।
वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले एक सय बुँदे कार्यसूचीको २४ र २५ नम्बर बुँदामा हेलो सरकारलाई गुनासो सुन्न बहु-च्यानलको व्यवस्था गर्ने र हेलो सरकारलाई स्तरोन्नति गरेर एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने उल्लेख छ ।
सोहिअनुरुप काम भए सुशासन प्रवर्द्धनमा टेवा पुग्ने निश्चित छ । सार्वजनिक निकायबाट प्रवाह हुने सेवा, विकास निर्माण र समग्र शासन सञ्चालनको क्रममा आम नागरिकले भोग्नु परेका समस्या, गुनासो तथा नागरिकका सुझावहरुलाई ग्रहण गर्ने र नागरिकको गुनासो सम्बोधन गर्ने उद्देश्यका साथ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ साल कात्तिक १७ गते हेलो सरकार कार्यक्रम सुरु गर्नुभएको थियो ।