
काठमाडौं । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बाेधन गर्दै हुनुहुन्छ।
संसद् भवन सिंहदबारमा दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नुहुनेछ । राष्ट्रपतिले संघीय संसद्को पहिलो बैठकलाई सम्बाेधन गर्ने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बाेधन गरेसँग पहिलो सत्रको बैठक समापन हुनेछ ।
संयुक्त बैठकपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुटै बैठक बस्ने छ भने बैठकबाट राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नेछ। प्रतिनिधि सभाको शुक्रबारको बैठकले उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका तोकेको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रूबीकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दिनुभएको छ ।
ठाकुरलाई संसद्को सबभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरिसकेको छ । उपसभामुख ठाकुर निर्वाचित हुन निश्चिच प्राय: भइसकेको छ । संसद्मा रास्वपाको सभामुखसहित १ सय ८२ सिट रहेको छ भने श्रम संस्कृतिको ७ सिट रहेको छ । संघीय संसद्को पहिलो अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुँदैछ ।