
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चारवटा संसदीय समिति सभापतिहरूले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
बुधबार संघीय संसद सचिवालयले आयोजना गरेको सपथ समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उहाँहरूले सपथ लिनुभएको हो । राष्ट्रिय सभाअन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित हुनुभएको थियो ।
मंगलबार बसेको सम्बन्धित समितिको बैठकले उहाँहरूलाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो । समिति सभापतिहरूको सपथग्रहण समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारी, राष्ट्रिय सभाका सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।