
काठमाडौं । अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरी सुकुम्बासी बस्तीहरूमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो । सरकारले कानुनी रूपमा भूमिहीन, अव्यवस्थित, सुकम्बासीकाे समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ ।
संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकम्बासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताउनु भयो । त्यसअघि काठमाडाैंको सिफलमा र भक्तपुरमा रहेको सुकुम्बासी बस्तीमा पनि डोजर चलाइएको उहाँको भनाइ छ ।
उहाँले वर्तमान सरकारलाई निर्वाचनबाहेक अरू काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुम्बासी बस्तीमा डोजर चलाउने आवश्यकता किन पर्यो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुकम्बासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ति जनाउनु भयो ।
संघका नेता प्रकाश खरेलले सुकुम्बासीलाई अतिक्रमणकारी भनेर खेद्ने काम भइरहेको बताउनु भयो । वर्षौंदेखि सरकारी, ऐलानी जग्गामा बसोबास गरिरहेकाहरूलाई राज्यले अव्यवस्थित बसोबासी भनेको उहाँको भनाइ छ । उनीहरूलाई व्यवस्थापन गर्नुपर्नेमा अनाहकमा डोजर लगाइने काम भएको उहाँको गुनासो छ । उहाँले अव्यवस्थित बस्तीमा दोजर लगाउने काम तत्काल बन्द गर्न र भूमिहीनहरूले पाउनुपर्ने हकको सुनिश्चित गर्न माग गर्नुभयो ।
धापासी सुकुम्बासी बस्तीका पीडित दलबहादुर खड्काले झुक्याएर बस्तीमा डोजर चलाइएको आरोप लगाउनु भयो । उहाँले चैत ८ गते वडाध्यक्षले भाडामा लगाएको घर भत्काइने भनेर सूचना जारी गरेर चैत ९ गते आफूहरूको बस्तीमा पनि डोजर चलाइएको बताउनु भयो ।
उहाँकाअनुसार बस्तीमुनी वडाध्यक्षले १५ वटा सटर बनाएर भाडामा लगाएका थिए । उहाँले धापासीमा २०६० सालदेखि बस्दै आएको र लालपुर्जाको लागि भूमि आयोगमा पत्र पनि पठाइसकेका जानकारी दिनुभयो । संघले क्रान्तिकारी भूमिसुधार लागू गर्न, भूमिहीन नागरिकलाई आवास उपलब्ध गराउन, डोजर आतंक तत्काल बन्द गर्न, भूमि समस्या समाधानको लागि कानुन संशोधन गर्न, लालपुर्जा वितरण कार्यलाई तिव्रता दिन माग गरेको छ ।