
धनकुटा । बारम्बार सुक्खा पहिरो खसेपछि धनकुटाको भेडेटार-रविराँके सडकअन्तर्गत भेडेटार-नाम्जे खण्ड अवरूद्ध भएको छ।
सामान्य वर्षापछि माथिबाट ढुंगा-माटो झर्न थालेपछि गएरातिदेखि सडक पूर्ण रूपमा बन्द भएको हो। भेडेटार इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार रातिदेखि लगातार सुक्खा पहिरो खसिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ। “माथिबाट ढुंगा र माटो खस्ने क्रम जारी रहेकाले तत्काल पहिरो पन्छाउन सकिएको छैन,” उहाँले भन्नुभयाे।
भेडेटार-रविराँके सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्रा टेकले पहिरो हटाउन बिहानैदेखि डोजरलगायत उपकरण तयारी अवस्थामा राखेको छ। तर पहिरो झर्ने क्रम नरोकिएकाले काम सुरु गर्न नसकिएको प्रहरी नायब निरीक्षक प्रधानले जानकारी दिनुभयाे।
उहाँका अनुसार पहिरो झर्ने क्रम रोकिएपछि मात्रै सडक सफा गर्ने काम सुरु गरिनेछ। शुक्रबार नै सडक खुल्ने सम्भावना कम देखिए पनि निर्माण कम्पनीका कामदार र उपकरण तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयाे। सडक अवरूद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समेत प्रभावित भएका छन्।
स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ।