
विराटनगर । विराटनगर-४ स्थित खारजीमा मोटरसाइकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।
बुधबार दुर्घटनामा परेर ४० वर्षीय मीनबहादुर बोहराको मृत्यु भएको हाे । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत बोहोराको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका-४ राजवंशी चोक उत्तर खारजीमा बिहान ७ः३५ बजेको समयमा स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजे मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।