
काठमाडौं । निर्वाचन आयोगले चैत पहिलो साताभित्रै ‘प्रतिनिधि सभा निर्वाचन’ प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ सांसद जित्ने दल र व्यक्ति समेटिएको प्रतिवेदन चैत पहिलो साताभित्र राष्ट्रपतिलाई बुझाउने तयारी आयोगले गरेको हो ।
प्रत्यक्षतर्फ १ सय ६५ सिटको नतिजा आइसकेको छ । प्राप्त नतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय २५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार १ सिटमा जितेका छन् ।
समानुपातिक प्रणालीतर्फको मतगणना पनि सकेको आयोगले जनाएकाे छ । मतगणना सकिएलगत्तै राजनीतिक दलहरूलाई आफ्नो भागमा परेका समानुपातिक प्रणालीतर्फ सांसद बन्नेहरूको सूची पठाउन आयोगले पत्राचार गर्नेछ । ढिलोमा चैत ५ गतेसम्म समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरिरहेको छ ।
त्यसपछि एक दुई दिनमा प्रतिवेदन तयार गरेर राष्ट्रिपतिलाई बुझाउने तयारी आयोगको रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।