समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

फाल्गुन २७, २०८२ |रासस
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् ।

यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिन्हसहित कूल ५७ दलले भाग लिएकामा छ दलले संसद्‌मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । 

सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २ सय ३५ सहित अग्रता हासिल गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ लाख चार हजार ८ सय ५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आठ लाख पाँच हजार ७ सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४ सय ७२ मत हासिल गरेका छन् । यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उहाँले बताउनुभयो ।

न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३ सय १७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिन्ह चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार ६ सय ७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २ सय ४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९ सय ३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४ सय ४२, एकल चिन्ह बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार १ सय ७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६ सय १७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २३ हजार ८ सय ५१, मङ्गोल नेसनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिन्ह मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार ४ सय ४५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६ सय ९५, संयुक्त नागरिक पार्टीको ९ सय ८०, स्वाभिमान पार्टीको आठ हजार १ सय ३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १ सय ५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेलिनवादी)ले छ हजार १ सय ६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २ सय ४१, नेसनल रिपब्लिक नेपालले पाँच हजार १ सय ५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले चार हजार ८ सय २३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६ सय ६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३ सय १२, समाजवादी पार्टी नेपालको चार हजार २ सय ४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २ सय ४८ प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९ सय ७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९ सय २५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २ सय ६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १ सय ६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिनुभयो ।

पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बीपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिन्ह जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उहाँले बताउनुभयो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ । निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।