निर्वाचनमा देशैभर रास्वपाको लहर, ४० स्थानमा जित हासिल गर्दा ७९ स्थानमा अग्रता

समानुपातिकमा पनि अगाडि
फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनमा देशैभर रास्वपाको लहर, ४० स्थानमा जित हासिल गर्दा ७९ स्थानमा अग्रता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी छ । 

मतगणनाको अहिलेसम्मको अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको रूझान देशभर देखिएको छ । रास्वपाले अहिलेसम्म देशभर ४० स्थानमा जित हासिल गरेको छ । यसैगरी कांग्रेस ६ स्थानमा विजयी हुँदा नेकपाले २ र एमालेले १ स्थानमा जित निकालेको छ । स्वतन्त्र उम्मेदवार एक जना विजयी भएका छन् ।

रास्वपाले मतगणना भइरहेकामध्ये ७९ स्थानमा अग्रता लिएको छ । यसैगरी अघिल्लो संसद्को पहिलो दल नेपाली कांग्रेसले ९ स्थानमा अग्रता लिएको छ । एमाले ९ ठाउँमा अगाडि छ भने नेकपा ८ र श्रम संस्कृति पार्टीले ५ स्थानमा अग्रता बनाएको छ ।

पछिल्लो अपडेट अनुसार

रास्वपाबाट तनुहँ १ मा स्वर्णिम वाग्ले, भक्तपुरबाट राजीब खत्री, सिन्धुली २ मा आशीष गजुरेल, गुल्मी २ मा गोविन्द पन्थी, बारा ४ मा रहबर अन्सारी, ललितपुर १ मा बुद्धरत्न महर्जन, पर्सा २ मा सुशीलकुमार कानु, रुपन्देही २ मा सुलभ खरेल र नुवाकोट २ मा अच्युतम लामिछाने विजयी हुनुभएको छ । 

यस्तै बागलुङ १ मा सुशील खड्का र बागलुङमा सोम शर्मा, बारा ३ मा अरविन्द साह, मोरङ ४ मा रुविना आचार्य, पर्सा १ मा बुद्धिप्रसाद पन्त, स्याङजा १ मा धनन्जय रेग्मी, पर्वत १ मा सागर भुसाल, रुपन्देही ३ मा लेखज‌ंग थापा र कैलाली १ मा कोमल ज्ञवाली विजयी हुनुभएको छ । 

यसैगरी चितवन २ मा रास्वपा सभापति रवि लामिछाने विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४ सय २ मत पाउँदा उहाँका निकटतम कांग्रेसकी प्रतिद्वन्द्वी मीना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभयो । लामिछानेले चितवन २ बाट तेस्रोपटक भारी मतान्तरले जित्नु भएको हो ।

बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार र महोत्तरी १ मा रास्वपाकै प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ । यस्तै कास्की २ मा उत्तमप्रसाद पौडेल र ३ मा बिना गुरुङ विजयी हुनुभएको छ । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी विजयी हुनुभएको छ । धनुषा ३ मा रास्वपाकै मनिष झाले जित हासिल गर्नुभएको छ । 

यस्तै रुपन्देही ४ बाट कन्हैया बानिया विजयी हुनुभएको छ । रास्वपाका सबै जितमा फराकिलो मतान्तर रहेको छ । यसैगरी झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाह र झापा २ मा पूर्वउपसभामुख इन्दिरा रानामगरको अग्रता कायमै छ । सर्लाही ४ मा रास्वपाकै अमरेशकुमार सिंह अगाडि हुनुहुन्छ ।

यसैगरि नेपाली कांग्रेसले ६ ठाउँमा जित हासिल गरेको छ । मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली र रसुवामा मोहन आचार्य विजयी हुनुभएको छ । दैलेख २ बाट पनि कांग्रेसका बासना थापा विजयी हुनुभएको छ । तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा र डोटी १ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टीबाट संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व र महेन्द्रबहादुर शाही कालिकोटबाट विजयी हुनुभएको छ । नेकपा एमालेबाट मोहम्मद इश्तियाक राईले बाँके २ बाट र ऐनबहादुर महरले बझाङ १ बाट जित हासिल गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.