सप्तरी–४ मा रास्वपाका सिताराम निर्वाचित

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सप्तरी–४ मा रास्वपाका सिताराम निर्वाचित

सप्तरी । सप्तरी–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिताराम साह शनिबार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उहाँले ३६ हजार ४ सय १२ मत ल्याउनुभएकाे छ । साहका प्रतिस्पर्धी २०७० देखि लगातार तीनपटक जितेका नेपाली कांग्रेसका तेजुलाल चौधरीले १३ हजार १ सय ३ मत मात्र ल्याउनुभएकाे छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालकी वाँबी सिंहले १० हजार २ सय ८० मत ल्याउनुभयाे। नेपाली कम्युनिष्ट पार्टीकी रुबीकुमारी कर्णले १ हजार ७ सय ९ मत ल्याउँदा नेकपा एमालेबाट गंगाप्रसाद चौधरीले १ हजार १ सय ७७ र जनमत पार्टीका जितेन्द्रकुमार साहले ९ सय ९५ मत ल्याउनुभयाे  ।

२०४१ मा सरकारी सेवामा प्रवेश गरेका निर्वाचित साह भू–संरक्षण अधिकृतबाट राजीनामा दिएर २०७४ मा कांग्रेसबाट सप्तरी–४(१) मा प्रदेशसभा सदस्य लड्नुभएकाे थियाे। नेविसंघबाट विद्यार्थी राजनीतिमा लागेका उहाँ निजामति कर्मचारी यूनियनका वरिष्ठ सल्लाहकार हुँदै कांग्रेसका क्षेत्रीय सभापति पनि हुनुभयाे । प्रदेशसभा सदस्यमा उहाँले ११ हजार ३ सय ९५ मत ल्याउनुभयाे।

२०७९ मा पुनः कांग्रेसबाटै खडक नगरपालिकाको नगर प्रमुखमा चुनाव लड्नुभएकाे थियाे । नगर प्रमुख लड्दा साह ३ हजार ४ सय ३६ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्थ्याे । उहाँ पछिल्लो पटक कांग्रेस छाडेर रास्वपामा प्रवेश गर्नुभएकाे हाे । खडक नगरपालिका–७ का साहका दुई छोरा र श्रीमति हुनुहुन्छ।

कुल १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेको यहाँ ३९ हजार ७४ महिला र ३२ हजार ९ सय १२ पुरुष गरी ७१ हजार ९ सय ८६ जनाले मत खसालेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.