
कैलाली । प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा रास्वका डा. आनन्दबहादुर चन्द भारी मतले विजयी हुनुभएकाे छ।
नेपाली कांग्रेस र नेकपा एमालेको पकड क्षेत्र मानिने कैलाली-५ मा झन्डै २० हजार मतान्तरले चन्द निर्वाचित हुनुभएकाे हाे । निर्वाचन आयोगको मत परिणामअनुसार चन्दले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्नुभएकाे छ ।
उहाँका निकटतम प्रतिद्वन्दी मानिएका नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गर्नुभएकाे छ। यस्तै नेपाल कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८ सय ७६ मत प्राप्त गर्नुभएकाे छ । आलेले यसअघिका प्रतिनिधि सभा निर्वाचनमा डोटीबाट लगातार तीनपटक चुनाव जित्नुभएकाे थियाे।
यसपटक आफ्नो चुनावी मैदान कैलाली ५ लाई बनाएका आले तेस्रो स्थानमा समेटिनुभएकाे छ। यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले ५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभयाे । यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका प्यारालाल राणाले १ हजार ७ सय ५५ मत ल्याउनुभएकाे छ ।