
जुम्ला । जुम्लामा ४१ हजार दुई सय १० मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाकाअनुसार ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो । महिला २१ हजार एक सय ४६ जना, पुरूष २० हजार ६४ जना मतदाता गरी जम्मा ४१ हजार दुई सय १० मत खसेको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कडेंलले जानकारी दिनुभयाे ।
जिल्लाका ११० वटा मतदान केन्द्रबाट आएको प्रतिवेदनका अनुसार सो मत खसेको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जुम्लाको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा राजनीतिक दल, सरकारी निकायदेखि सबै तहको सहयोगमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताउँदै उहाँले अब मुचुल्का उठाएर सदरमुकामतिर ल्याइँदै गरिएको बताउनुभयाे ।
जुम्लामा भोलि बिहान ७ बजेदेखि मतगणना सुरू हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणना बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले मतपेटिका आउने क्रम जारी रहेको बताउनुहुँदै शुक्रबार बिहान ७ बजेदेखि मतगणना सुरू हुने जानकारी दिनुभयाे । मतपेटिका आउने क्रम जारी छ । राति एक बजेसम्म सबै मतपेटिका आइपुग्ने लक्ष्य राखिएको छ ।