
काठमाडौं । बिहीबार जनादेशको दिन, सिंगो देश प्रतिनिधि सभा निर्वाचनको मतदानमा होमिएको छ ।
अहिले देशैभरका १६५ निर्वाचन क्षेत्रमा मतदान जारी छ । जेन-जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधि सभा विस्थापित भएको ६ महिनापछि बिहीबार मतदान भइरहेको हो । बिहान ७ बजे सुरू भएको मतदानको समय साँझ ५ बजेसम्मको तोकिएको छ । अहिलेसम्म देशभर २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशगत रूपमा उपत्यकामा ३६, कोशीमा २३, मधेशमा २०, बागमतीमा १९, गण्डकीमा १९, लुम्बिनीमा २६, कर्णालिमा ३१ र सुदूरपश्चिममा २५ प्रतिशत मत खसेको छ । आयोगले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । तीमध्ये करिब ९ लाख पहिलो पटक मतदानमा सहभागी हुँदैछन् ।
आयोगले मतगणना सुरू भएको २४ घन्टाभित्रै मतपरिणाम सार्वजनिक गरिने पनि बताएको छ । एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा सदरमुकाममा र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा मुख्य निर्वाचन अधिकृतले दलीय छलफलका आधारमा गणनास्थान निर्धारण गर्ने आयोगले जनाएको हो ।
आयोगले प्रत्यक्षसँगै समानुपातिकको पनि गणना गरेर नतिजा सार्वजनिक गरिने बताएको छ । आयोगले दुर्गम जिल्लाहरूमा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने जानकारी दिएको छ ।