
रामेछाप । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रामेछापमा दिउँसो १ बजेसम्म २५ प्रतिशत मतदान भएको छ।
जिल्लामा रहेका कुल मतदातामध्ये मध्याह्न १ बजेसम्म ४७ हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेले बताउनुभयाे । उहाँकाअनुसार दिउँसो १ बजेसम्म पुरूष २६ हजार ८३३ र महिला २० हजार ५६४ जनाले मतदान गरेका छन् ।
रामेछापमा कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा मतदाताको उपस्थिति उत्साहजनक देखिएन । यो प्रतिनिधि सभा निर्वाचन क्षेत्र एकमात्रै रहेको रामेछापमा यो निर्वाचनका लागि ९६ मतदान स्थल र २२८ मतदान केन्द्र रहेका छन् ।
जिल्ला सदरमुकाम मन्थलीको मतदान केन्द्रलगायत ग्रामीण भेगका मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून देखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी भोलाकुमार भट्टकाअनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
सुरक्षा व्यवस्थासमेत कडा पारिएकाले मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।