रोल्पामा कुटपिटबाट दुई जना घाइते, तीन ‍नियन्त्रणमा

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
रोल्पामा कुटपिटबाट दुई जना घाइते, तीन ‍नियन्त्रणमा
रोल्पा। रोल्पामा मतदानका क्रममा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

जारी मतदानका क्रममा एमाले कार्यकर्ताले फर्जी मत रोक्न खोज्ने क्रममा नेकपा कार्यकर्ताले कुटपिट गरेको स्थानीयले बताएका छन्।

कुटपिट गर्नेमा नेकपा कार्यकर्ता समेत रहेका सुनिलस्मृति गाउँपालिका–८ का वडा अध्यक्ष धनराज रोकामगर, नेपाल राष्ट्रिय मावि अरेशका प्रअ शंकर पुन र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एंव सुनिलस्मृति गाउपालिका प्राविधिक कर्मचारी सुदर्शन पुन सहितको २०र२५ जनाको समूह रहेको बताइएको छ।

कुटपिटबाट एमाले कार्यकर्ता महेन्द्र पुनको आँखा र शरीरमा चोट लागेको छ भने दीपेश पुनको आँखामा चोट लागेको पूर्वशिक्षक एवं स्थानीय जीतबहादुर पुनले जानकारी दिएका छन्।

घाइते महेन्द्र र दीपेशले मतदानस्थलमा खटिएका कर्मचारी तथा सुरक्षा निकायले घटनालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र तीन जनालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिएका छन्। उनले घटनाबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बताएका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.