
रामेछाप । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले रामेछापमा नेपाली सेनाले हेलिकप्टरमार्फत हवाई गस्ती तथा माउन्टर-डिसमाउन्ट अभ्यास सञ्चालन गरेको छ।
मंगलबार बिहान १०: ४५ बजे रामेछाप जिल्लाको सीओबी हिलदेवी आसपासका क्षेत्रमा मध्ये पूर्व पृतना हेडक्वार्टरमा रहेको विशेष फौज वाहिनी अन्तर्गतका सेनानी सुवास थापाको कमान्डमा उक्त गस्ती तथा अभ्यास गरिएको हो ।
अभ्यासअन्तर्गत हेलिकप्टरमार्फत हवाई रेकी-गस्ती गर्दै आवश्यक स्थानमा फौजको माउन्ट तथा डिसमाउन्ट अभ्यास गरिएको बताइएको छ । आगामी निर्वाचन अवधिमा सम्भावित सुरक्षा चुनौतीको पूर्व तयारी, छिटो प्रतिकार्य क्षमता अभिवृद्धि तथा जिल्लाको शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यले उक्त गस्ती तथा अभ्यास गरिएको बताइएको छ ।
निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रामेछापस्थित नेपाली सेनाको खड्ग दल गणबाट खटिएका नेपाली सेनाले सुरक्षात्मक गतिविधि निरन्तर जारी राखेको छ । जिल्लामा रहेका ९६ वटै मतदान स्थलमा पुगेर बाक्ले गस्ती गरी नेपाली सेनाले आफ्नो सुरक्षा गतिविधिलाई तीव्रता दिएको छ ।